तानसेन । पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित भएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । उनी पछिल्लो समय अस्वस्थ थिए । काठमाडौँ मध्यबानेश्वरमा बस्दै आए पनि केही समयअघि अष्ट्रेलिया गएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
२०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्रीसमेत भएका थिए ।
पाल्पाका शिक्षाविद् डा रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताए । ‘रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३/०३४ मा मन्त्री पनि बन्नुभयो,’ उनले भने ।
रेग्मी कांग्रेसको सह–महामन्त्री समेत बनेका थिए । मन्त्री बनेपछि उनी विस्तार राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा. ज्ञवाली बताउँछन् । उनकी श्रीमती, तीन छोरी र एक छोरा छन् ।
