काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे।
‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो। उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो। उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो’, अध्यक्ष ओलीले भने, ‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो। आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन। नेपालमा कम्युनिष्टहरूको संगठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो। उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो। उहाँकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन।’
विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो। उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो।
