पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली देशभर एकनासको नभएर सीमित क्षेत्रमा वर्षा गराउने खालको रहेको जनाएको छ। एक साता तापक्रम बढेर जनजीवन प्रभावित भएकामा फेरि नयाँ मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) विकास भएको हो।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो देशैभरि फैलिने ठूलो प्रणाली नभएकाले पहाडी क्षेत्रमा मात्रै देखिने बताउँदै मौसम बदली भने हुने जानकारी दिए। उनले तराईमा अझै पनि भारी वर्षा हुने खालको प्रणाली विकसित भइनसकेको बताए। अहिले वर्षाको अभावमा तराईका जिल्ला प्रभावित भएका भन्दै उहाँले कतिपय क्षेत्रमा ट्यांकर र दमकलबाट पानी वितरण भइरहेको उल्लेख गरे।

मौसमविद् मानन्धरले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिए। उनका अनुसार हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका अधिकांश स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको पनि सम्भावना रहेको मानन्धरले जानकारी दिए। आज राति र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना बढी रहेको उल्लेख गरे।

देशको उच्च–पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।

सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ। आगामी तीनदिनसम्म मौसम बदली हुने र त्यसपछि हट्दै जाने पनि मौसमविद् मानन्धरले राससलाई जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *