परिवर्तनबाट प्राप्त उपलब्धि जोगाउन सके मात्रै समृद्धि सम्भवः गृहमन्त्री लेखक

बैतडी। गृहमन्त्री रमेश लेखकले अहिलेको संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले यहाँ आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सातओटा संविधान फेरिएको चर्चा गर्दै वर्तमान संविधान बमोजिमको व्यवस्थालाई अगाडि बढाउनुको विकल्प नभएको बताए।

उनले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेको समेत बताए। उनले भने, ‘हामी अहिले दुई ठूला प्रतिस्पर्धी दल मिलेका छौं। यसको एउटामात्रै कारण छ। यो व्यवस्थालाई जोगाउने र राजनीतिक स्थायित्व कायम गर्न जरुरी छ।’ देशमा पछिल्लो समयमा भएको परिवर्तनलाई जोगाएमात्रै समृद्धि सम्भव रहेको उनले बताए।

अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको र यसकै आधारमा सञ्चालन हुने उनको भनाइ थियो। उनले दुई दलबीचको सहमतिअनुसार चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने समेत उल्लेख गरे।

पछिल्लो समय सरकारप्रति आइरहेका गुनासा सम्बोधन गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले सरकार सञ्चालनमा केही सानातिना समस्या रहेपनि ती समस्याहरुलाई हल गरेर आफू अघि बढिरहेको उल्लेख गरे।

त्यस अवसरमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसँग आवश्यक सहकार्य गर्नुपर्नेमा जोड दिए। यस्तै महाकाली करीडोरमा बजेटको समस्या रहेको बताउँदै यसमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरे।

सभापति चन्दले जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको अस्पतालको रुपमा स्तरोन्नति सरकारको ध्यानाकर्षण गराएका छन्। अस्पताल सञ्चालन गर्न भौतिक संरचना रहेको भएपनि दरबन्दी र अन्य व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *