काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
सोमबार नै सुरू भएको पनौतीको सत्रौँ नगरसभा ‘बजेट सिलिङ विवाद’ का कारण गणपूरक सङ्ख्या नपुगेको जनाउँदै आजसम्मका लागि स्थगन गरिएको थियो।
स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार गणपूरक सङ्ख्या पुगेको जनाउँदै नगरले आज नीति, कार्यक्रम तथा बजेट ल्याएको हो। सभामा आगामी आवका लागि रु एक अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्ताव गरिएको छ।
नगरसभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिगो, भरपर्दो, तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिइने बताए। नगरभित्र गौरवको आयोजना तथा वडाभित्र कम्तीमा ‘एक वडा एक गौरवको आयोजना’का लागि क्रमागत रुपमा बजेट विनियोजन गरिएको जनाइयो।
पनौती शिरानचौरमा निर्माणाधीन रंगशालालाई नगरको आन्तरिक स्रोतबाट पूर्णता दिइने, पुण्यमाता खोला–किनारमा वृक्षरोपण कार्यक्रम, रोजगार सेवा केन्द्रलाई रोजगार बैंकका रूपमा विकास गर्ने नगरको नीति–कार्यक्रममा उल्लेख गरिएको छ।
सभामा उपप्रमुख गीता बञ्जाराले आगामी आवको आय व्ययसहितको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रतिवडा रु एक करोड ३० लाखका दरले रकम विनियोजन गरिएको जनाइएको छ।
विशेषगरी वडा नं ७ को संरक्षित स्मारक क्षेत्रभित्रका सम्पदामैत्री घर संरचना निर्माण तथा मर्मतमा प्रोत्साहन गर्न र विश्वसम्पदा सूचीमा सूचीकृतसम्बन्धी कार्यलाई प्रभावकारी रुपले अघि बढाउने नगरको नीति कार्यक्रममा जोड दिइएको छ।
जिल्लामा सबैभन्दा बढी बजेट ल्याउने पनौती नगर भएको छ। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मंगलबारसम्ममा १२ तहले आफ्नो नीति तथा कार्यक्रम ल्याएका थिए।
