काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको बताए ।
उनले भने, ‘१९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरुको, सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जाने छ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धीको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नु छ ।’
यस्तै, उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको अभियान भएको बताए ।
उनले भने, ‘हुनतः हामी उमेरको हिसाबले धेरैजसो नेताहरूले यहाँ अहिलेको उपस्थित छौँ । हामी उत्तरार्द्धतिर छौँ । तर, राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भए पनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौँ । अन्तिम समयसम्म हामी त्यो भूमिका पूरा गर्न चाहन्छौँ ।’
उनले युवा र आम नेपाली जनताको विकास र सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागि भएको पनि बताए ।
उनले भने, ‘जेनजी युवाहरूको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरूलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन ।’
उनले भने, ‘नेपालमै रोजगारी सिर्जना गरेर नेपाली युवाहरु जेनजी युवाहरुले जुन आक्रोशका साथ आफ्ना मागहरु अगाडि सारेका छन् । देश विदेशमा भएका लाखौ नेपाली युवाहरुले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन् । ती युवाहरुको र आम नेपाली जनताको विकासको चाहानालाई सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागि भएको हो । यो एकता आन्दोलन हो ।’
यो एकता एउटा यस्तो शक्तिशालि अभियान हुनेवाला छ, जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्ने र भ्रष्टाचारीहरुलाई साच्चि नै कारबाही गर्ने गरि अगाडि बढ्ने पनि उनको भनाई छ ।
