न्युजिल्याण्डमा बेरोजगारी दर ५.२ प्रतिशत, श्रम बजार थप कमजोर

वेलिङ्टन । न्युजिल्याण्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल–जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै गएको राष्ट्रिय तथ्यांक विभाग स्ट्याट्स एनजेड ले बुधबार जानकारी दिएको छ । मार्चमा बेरोजगारी दर ५.१ प्रतिशत थियो भने अघिल्लो वर्षको यही अवधिमा ४.७ प्रतिशत थियो । अहिले देशभर एक लाख ५८ हजार व्यक्ति बेरोजगार छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ हजारले (११ प्रतिशतले) बढी हो ।

स्ट्याट्स एनजेडका श्रम विश्लेषक जेसन एट्टवेलका अनुसार, पछिल्ला केही वर्षमा श्रम बजारको अवस्था उल्लेखनीय रूपमा कमजोर हुँदै गएको छ । सन् २०२२ को जुनयता बेरोजगारी दरमा १.९ प्रतिशत अंकको वृद्धि भएको छ । बेरोजगारी मात्र होइन, श्रम बजारको समग्र अवस्थालाई देखाउने अन्डरयुटिलाइजेसन दर पनि बढेर १२.८ प्रतिशत पुगेको छ ।

यो दर मार्च त्रैमासमा १२.४ प्रतिशत थियो भने एक वर्षअघि ११.९ प्रतिशत थियो । यद्यपि तलब वृद्धि भइरहेको छ, यसको गति भने सुस्तिएको छ । वार्षिक तलब वृद्धिदर ४.३ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । औसत घण्टाको तलब ४.५ प्रतिशतले बढेर ४३.३९ न्युजिल्याण्ड डलर (लगभग २५.६६ अमेरिकी डलर) पुगेको छ ।

श्रम बजार कमजोर बनेपछि धेरै युवा शिक्षातर्फ फर्किएका छन्। १५ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीको संख्या ५ प्रतिशतले बढेर ३ लाख ७९ हजार नौ सय पुगेको छ । युवाको रोजगार र सहभागिता दर घटेर क्रमशः ५३.१ र ६२.३ प्रतिशतमा झरेका छन्। तर, रोजगार, शिक्षा वा तालिममा नरहेका (नीट) युवाको दर भने १२.२ प्रतिशतमै स्थिर रहेको स्ट्याट्स एनजेड ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *