नेपाल-भारतबीचको ऊर्जा तथा जलस्रोतको सम्बन्ध, अवसरको अधिकतम उपयोग कि अझै गुमाउने ?

काठमाडौं  । नेपालको जलस्रोतलाई राष्ट्रिय समृद्धिको मेरुदण्ड मान्ने धारणा दशकौँदेखि दोहोरिँदै आएको छ। तर नीतिगत अस्पष्टता, नेतृत्वको संकुचित दृष्टिकोण र भौगोलिक यथार्थता प्रति बेवास्ता गर्दा यो सम्भावना बारम्बार गुमिरहेको छ । यही पृष्ठभूमिमा शुक्रबार राजधानीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध विभागले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालभारत सम्बन्धमा नेपालको ऊर्जा तथा जलस्रोतको भूमिका’ विषयक नीति संवाद कार्यक्रमको आयोजना गरेका छन् । विभिन्न दलका नेता, सांसद र विज्ञहरूले अब विलम्ब नगरी स्पष्ट रणनीति र कार्यान्वयन योग्य कार्ययोजनाको आवश्यक रहेको स्पष्ट सन्देश दिएका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपि साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने तथा भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताएका छन् । निजी क्षेत्रसँग सहकार्य गरेर जलस्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा उनको जोड थियो।

एमालेका नेता अग्नि खरेलले मुलुकको दीर्घकालीन समृद्धिका लागि छिमेकी मुलुकहरूलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउँदै राजनीतिक दलबीच आपसी आरोप-प्रत्यारोपभन्दा सहकार्य र साझा दृष्टिकोण आवश्यक रहेको औंल्याए ।

पूर्व जलस्रोत तथा सिँचाइ मन्त्री तथा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले ऊर्जा सम्झौतामा ‘विश्वास मात्र होइन, राष्ट्रिय हितको आधार’ अनिवार्य रहेको स्पष्ट पारे। ‘भारतले आफ्नो हितलाई पहिलो प्राथमिकता दिन्छ। नेपालले पनि त्यस्तै दृष्टिकोण लिनुपर्छ’ उनले भने। दुई देश बीचको सम्बन्धलाई पारस्परिक लाभको आधारमा लैजानुपर्नेमा उनले आफ्नो धारणा स्पष्ट पारे ।

रास्वपाका उपाध्यक्ष डिपी अर्यालले जलस्रोतको धनी देश भएर पनि तराईमा वर्षायाममा समेत पानी र सिँचाइको अभाव हुनु दुःखद् विषय भएको टिप्पणी गरे। उनले यस्ता संवाद कार्यक्रमलाई समस्याको समाधानतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरे।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनालले छिमेक नीतिमा स्पष्ट दृष्टिकोण बनाउनुपर्ने भन्दै पार्टीले आवश्यक तयारीका लागि  छलफल र संवादलाई अघि बढाएको बताए ।

रास्वपा केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुख श्रीराम न्यौपानेले ३५ वर्षसम्म नेतृत्व र व्यवस्थाले जलस्रोत र ऊर्जाको अवसर गुमाएको आरोप लगाए। ‘स्रोतको पहिचान, अधिकतम उपयोग र नतिजा निकाल्ने आँट बिना कुनै पनि व्यवस्था सफल नहुने वताउँदै उनले नेपाल-भारत सम्बन्धलाई दुवै देशको दीर्घकालीन हितमा आर्थिक मुद्दामा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागका विज्ञ सल्लाहकारहरु पूर्व सचिवद्वय इ. सुशिलचन्द्र तिवारीले जलस्रोत र इ. मधु प्रसाद भेटुवालले  ऊर्जाका विषयमा आफ्नो प्रस्तुती राखेका थिए ।

विज्ञहरु प्रा. डा. नरेन्द्रमान शाक्य, पूर्व राजदूत डा. जयराज आचार्य, सचिव अनुपकुमार उपाध्याय, इप्पान अध्यक्ष गणेश कार्की र ऊर्जा विज्ञ ज्ञानेन्द्रलाल प्रधानले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, संघीय सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *