नेपालको खेलकुद राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा स्थापित हुँदै गएको छ : अध्यक्ष दाहाल

कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली खेल क्षेत्र निकै विकसित हुँदै गएको बताएका छन्।

नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद राष्ट्रिय एकता र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धिको समेत प्रतीक बनेको बताए।

अध्यक्ष दाहालले आफ्नो प्रधानमन्त्रीकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा योजना कार्यक्रम बनाउने पहल गरेको स्पष्ट पारे। 

अध्यक्ष दाहालले भने, “नेपाली खेल क्षेत्र विकसित हुँदै गएको छ। मैले नीतिगत मात्र होइन खेलकुद क्षेत्रको नेतृत्वमा सफल व्यक्तिहरु ल्याएका कारणले अहिले नेपाली खेल राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा निकै स्थापित भएको छ।”

उनले नेपाली खेलाडीहरुले विस्तारै अन्तरराष्ट्रिय प्रतियोगितामा पदकको वर्षा गर्ने गरेको र अहिले नेपालमा ऐन कानुनले पनि खेलाडीको जीवनलाई सुनिश्चित गर्ने पहल भएको बताए। 

अध्यक्ष दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई मन्त्रिपरिषद्बाट राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै त्यसपछि देशभित्र भलिबल खेलको महत्त्व अझ बढेको उल्लेख गरे। 

“नेपालको भूगोल, संस्कृति, हावापानी र नेपालीजनसँग मेल खाने खेल भएकाले मन्त्रिपरिषद्बाट निर्णय गरेको गरिएको हो। त्यसपछि भलिबलको  मान्यता राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा बढेको र पदक जित्ने सुरुआत भएको हो”, दाहालले भने।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलाडीले खेल खेलेरै आफ्नो जीवन निर्वाह गर्ने वातावरण बनेको बताए। 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरामा निरन्तर भइरहेका विभिन्न खेलकुदका प्रतियोगिताका कारणले पोखरा भ्रमण वर्ष २०२५ सफल बनेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *