निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ : आयुक्त भण्डारी

काठमाडौं। निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् ।

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए ।

निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटकासाथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै छाड्ने दावी गरे ।

उनले भने,‘राष्ट्रपतिज्यूबाट घोषणा भएको जुन निर्वाचन छ, घोषणा भएको दिनदेखि नै आयोग शुन्य अवस्थामा उठेर अहिले झण्डै ७० प्रतिशतको काम सकिसकेको छ । निर्वाचन प्रकृयाको माहोलमा गएको र वातावरण सृष्टि भइसकेको छ । निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो । आयोग र सरकार अठोटकासाथ लागि परेको छ । निर्वाचन समयमै सम्पन्न हुन्छ ।’

त्यस्तै निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउनेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

विगतमा गाडी नचाहिने मान्छेहरू ओसारपोसार गर्छन् भनेर सवारी आवागमनमा रोक लगाएको भन्दै यसपाली रोक नलगाउने पक्षमा आयोग पुगेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *