चितवन । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।
शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो ।
प्रदेश सरकारले सुन्तला प्रवद्र्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताए । बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ ।
उनले भने ‘सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।’ सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ ।
कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमूना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उनले जानकारी दिए । नमूना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको उनले बताए ।
शाखा अधिकृत पौडेलका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । वडा नं ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनले बताए ।
गुरु किसान परिचालन गर्न नसक्दा नमूना बगैँचा बनाउने कामसमेत रोकिएको उनले जानकारी दिए । गुरु किसानले आफूले जानेका सीपलाई किसानलाई सिकाउने र नमूना बगैँचा बनाउने योजना रहेको थियो । गुरु किसान बन्न किसान नआएपछि गाउँपालिकाको रु चार लाख खर्च हुनसकेको छैन ।
