नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ । व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने जोखिम क्षेत्रमा संरक्षणका लागि ग्याबिन पर्खाल निर्माण गरिएको छ । व्यास नगरपालिका–११ र १२ को छबिसेको बाँधदेखि बुल्दीखोला किनारसम्म डेढ किलोमिटर दूरीमा पर्खाल निर्माण गरेको हो ।

उक्त स्थानमा पर्खाल निर्माण गर्दा डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनले भने, “नदी कटानका उच्च जोखिम भएका क्षेत्रमा वाल निर्माण कार्यले छवटा सिँचाइ योजनाका बाँध संरक्षण र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”

करिब २० मिटर नदीको भाग छाडेर ग्याबिन पर्खाल निर्माण गरिएको छ, जसले खेतीयोग्य जमिन संरक्षणमा सहयोग मिलेको छ । “गत वर्ष असार महिनामा सम्झौता भएको र वर्षायामका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन,” उनले भने, “चालु आर्थिक वर्षको मङ्सिर महिनाबाट काम सुरू गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।”

पर्खाल निर्माणको जिम्मा मनकामना गुरुङ निर्माण सेवाले पाएको छ । उक्त निर्माण कम्पनीले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उनले भने, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना रहेको छ ।”

कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ योजनामध्ये पाँच योजनाको निर्माणसम्पन्न भइसकेको छ, सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिनेछ । बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *