नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण

तनहुँ।  जिल्लाको व्यास नगरपालिका–११ र वडा नं १२ को छबिसेको बाँधबाट बुल्दीखोला किनारमा नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण गरिएको छ । शिसाखोला–बुल्दीखोला, छबिसेबाट घाँसीकुवासम्म कटानका जोखिम भएका विभिन्न क्षेत्रमा गरी एक हजार ४०० मिटर दूरीमा वाल निर्माण गरिएको हो । 

वाल निर्माणका क्रममा करिब डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनले भने, “करिब बीस मिटर नदीको भाग छाडेर ग्याबिनवाल निर्माण गरिएको छ, जसबाट छ वटा सिँचाइ योजनाका बाँध र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”

गत वर्ष असारमा सम्झौता भएर वर्षायामका कारण निर्माण अघि बढाउन नसकेको जनाउँदै उनले चालु आर्थिक वर्षको मङ्सिरदेखि काम सुरु गरी निर्माण सम्पन्न गरिएको बताए।

निर्माण कम्पनी मनकामना गुरुङ निर्माण सेवाले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उनले भने, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना छ ।” 

प्रमुख आचार्यका अनुसार कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ मध्ये पाँच आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिने उनले उल्लेख गरे ।

बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *