काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित बिदाई गरेका हुन् ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशका गौरवका लागि खेल्न सल्लाह दिए । महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ । यसअघि सो प्रतियोगिता भारतमा हुने भनिएको थियो ।
महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो । सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो । भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गरि घर फर्किने विश्वास व्यक्त गरेका छन् । मानमती विष्टको कप्तानीमा रहेको टिममा जयन्ती बडु उप- कप्तान छन् ।
अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य छन्। टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा छन् ।
