काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन जनताले फेरि एक पटक नेकपा (माओवादी केन्द्र) लाई बहुमत दिनुपर्ने बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए ।
पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको उनले दाबी गरे । उनले भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार रहेको जिकिर गरे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरू रोक्ने प्रयत्न भइरहेको सो क्रममा बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने उनको भनाइ छ ।