दमौली (तनहुँ)। तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउनको सोमबार लागेको बोलबम मेलामा एक लाख ५० हजार भक्तजन आएका छन्। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चारवटा सोमबार एक लाख ५० हजार भक्तजनले बोलबम मेलामा स्नान गरेका हुन्।
बोलबम मेला साउनको प्रत्येक सोमबार हुन्छ। बोलबममा देवघाटको वेणीसङ्गम र शिवालयहरूमा भक्तजनको घुँइचो लागेको थियो। साउनका अन्य बारमा पनि यहाँ दैनिक एक हजारभन्दा बढी भक्तजन आउने निर्देशक बरालले उल्लेख गरे।
चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सव मनाइने भएकाले पनि स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको आगमन वृद्धि हुने उनले बताए। साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताए।
साउनको हरेक सोमबार बिहानै स्नान गरेर निराहार व्रत बस्ने धार्मिक मान्यता छ। देवघाट क्षेत्र विकास समितिले यसवर्ष बोलबम मेलामा आउने भक्तजनको तथ्यांक राखेको हो। साउनमा त्रिशुली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको समितिले जनाएको छ।
