काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईलाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति दिएकै आधारमा मध्यरातमा प्रसाईलाई पक्राउ गरिएकोप्रति निन्दा गर्दै बिना शर्त रिहा गर्न माग गरेको हो ।
राप्रपाले भनेको छ- ‘अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ। प्रसाईको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ। प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
गएराती पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
