काठमाडौं । सरकार र राजनीतिक दलबीचको बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सबै दलका प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, दलका नेताहरूले पालैपालो आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलज्यूका अनुसार, निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ ।
एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ । तर, चुनावको विरोध भने गरेको छैन ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै पाँच मन्त्रीसमेत सहभागी छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन् ।
छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् । नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले र सोविता गौतम बैठकमा छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमतका चन्दन सिंह सहभागी छन् ।
बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित रहेका छन् । छलफलमा पर्यवेक्षकको रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी छन् ।
