काठमाडौं । वैदेशिक रोजगारीमा जान पछिल्लो तीन महिनामा दुई लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उनीहरूले श्रम स्वीकृति लिएका हुन् ।
०८२ साउनदेखि असोजसम्मको तीन महिनामा कुल दुई लाख ७१६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागको तथ्यांक अनुसार, गएको असोज महिनामा मात्र ५६ हजार ६२५ पुरुष र आठ हजार ९ जना महिला गरी ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका छन् । गएको साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा कुल एक लाख ७० हजार ५९१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३० हजार १२५ जना बढीले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.६५ प्रतिशतले वृद्धि भएको छ ।
