तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

काठमाडाैँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छिन्। बिहीबार सम्पन्न निर्वाचनमा ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्ष भएका थिए।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।

हेर्नुस् उनको शुभकामना सन्देश
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास हो।
तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीज्यू सहित नवनिर्वाचित अन्य पदाधिकारीहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू तथा महाधिवेशन सफल बनाउन अहोरात्र खटिनु भएका स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र कलाकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ।
यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *