तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा अभियन्ता विष्णु तिवारीले आगामी कार्यकाल (२०२५–२७) का लागि गैरआवासीय नेपाली संघ(एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यका रूपमा सक्रिय तिवारीले एनआरएनए अभियानमा बिताएका अनुभव र जिम्मेवारीले अन्तर्राष्ट्रिय तहमा अझ प्रभावकारी रूपमा योगदान गर्न प्रेरणा मिलेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘अब म आइसीसी सदस्यका रूपमा पूर्ण रूपले तयार र प्रतिबद्ध छु।’

तिवारीले आफूलाई एक समर्पित र समावेशी नेताका रूपमा प्रस्तुत गर्दै एनआरएनएलाई सबै नेपालीहरूको साझा, विश्वसनीय र पारदर्शी मञ्च बनाउने संकल्प लिएका छन् ।

उनले प्रवासी नेपालीहरूको हक, हित र सुरक्षाका विषयमा नीति तहमै आवाज उठाउने, युवालाई नेतृत्वमा ल्याउने, नेपाली व्यवसाय, शिक्षा तथा सामाजिक क्षेत्रलाई संस्थासँग जोड्ने, र पारदर्शिता तथा जवाफदेहिता आधारित नेतृत्व संस्कृतिको अभ्यासलाई संस्थागत बनाउने स्पष्ट योजना सार्वजनिक गरेका छन् ।

उनले अष्ट्रेलियाबाट आइसीसी सदस्य पदका लागि आगामी जुलाई २६ मा हुने निर्वाचनमा आफूलाई विजयी गराउन सम्पूर्ण नेपाली समुदायसँग साथ, समर्थन र अमूल्य मतको अपेक्षा गरेका छन् । सामाजिक सेवामा समेत अग्रसर रहेका तिवारी पछिल्लो नेपालमा आएको बाढी–पहिरोको विपद् व्यवस्थापनमा समेत नेपालमै पुगेर सेवा गरेका थिए ।

त्यसअघि २०७२ सालको महाभूकम्पपछि जाजरकोट पुगेर राहत वितरणमा समेत तिवारीको उल्लेखनीय योगदान रहँदै आएको छ। यसै कारण, उनी एनआरएनए अष्ट्रेलियामा सामाजिक सेवामा समर्पित एक चिनिएको अनुहारका रूपमा स्थापित छन्।

तिवारीले यसपटक ‘भाषा, संस्कृति र नयाँ पुस्ताको पहिचान’ लाई प्रमुख नारा बनाउँदै अष्ट्रेलियामा जन्मेका वा हुर्केका दोस्रो पुस्तालाई नेपालसँग जोड्न विशेष अभियान चलाउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘भाषा नरहे हामी नेपाली रहँदैनौँ। त्यसैले नेपाली भाषाको संरक्षण र नयाँ पुस्तालाई माटोसँग जोड्ने मेरो अभियान हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *