तत्कालीन गाविस सचिव कुर्मीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०५७÷०५८ देखि २०७२÷०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरुलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

‘तत्कालीन गाविस सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार ७ सय हिनामिना हानिनोक्सानी गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’– अख्तियारबाट जारी विज्ञप्तिमा भनिएको छ ।

तत्कालीन गाविस अध्यक्ष श्रीवास्तवसँग ६३ हजार ५ सय, गाविस सचिव सावित राम कुर्मीसँग ६ लाख, ५६ हजार सात सय, अशोक कुमार श्रीवास्तवसँग ५८ हजार २ सय विगो माग दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *