गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन्। बागलुङको बडिगाड गाउँँपालिकामा जन्मेका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो ।
त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। अर्यालले चार रोपनी जग्गामा ३०० पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दै आएका हुन्।
उनको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार २०० ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट अर्यालले गत वर्ष २० क्वीन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताए।
यसपटक ३० क्वीन्टल उत्पादन हुने उनको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उनले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थालेका छन्।
अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन्। उत्पादित बिरुवा रु ५० देखि रु २५० सम्ममा बिक्री गर्ने गरेको उनले बताए । उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताए।
उनले उत्पादन गर्नभएको ड्रागन फ्रुट बजारमा प्रतिकिलो रु ५०० मा बिक्री हुने गर्दछ । गत वर्ष उनले ड्रागन फ्रुट बिक्री गरी रु दश लाख आम्दानी गरेको बताए।
बडिगाड–५ ग्वालीचौरस्थित भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेशाबाट अवकाश पाएका अर्याल यतिबेला ड्रागन फ्रुट खेतीमा रमाएका छन् ।
उमेरले ७७ वसन्त टेकेका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्ट्रेलियामा छन् । बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उनी गाउँँमै बसेर कृषि कर्ममा रमाएका छन्। अर्यालको यस्तो सक्रियताले गाउँँका धेरै व्यक्तिलाई उर्जा र प्रेरणा मिलेको छ ।