डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ । दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो ।

टावरले काम गर्न छाडेदेखि यहाँका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् । मोबाइलमा नेटवर्क नआउने र इन्टरनेट सेवाबाट समेत यहाँका बासिन्दा टाढा भएका छन् । टावर स्थापनापछि खुसी भएका यहाँका स्थानीय हाल भने निरास छन् । टावर सञ्चालन भएको छ महिनासम्म इन्टरनेट र मोबाइल सेवा राम्रै काम गरे पनि डेढ वर्षदेखि समस्या भएको हो ।

यहाँ करिब साढे तीन सय घरधुरी रहेको छ । फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताए । उनले भने, ‘फोनको लाइन नआउँदा डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता छ । कुनै आकस्मिक कामका लागि कतै फोन गर्नुपरेमा निकै समस्या हुने गरेको छ ।’

तल्लागाउँ, पातली, सिराड, बसाड, सल्याडलगायत बासिन्दा फोन गर्नकै लागि डाँडा चढ्ने गरेका छन् । फोन र इन्टरनेट सुविधा पाउनसमेत गाह्रो रहेको स्थानीय प्रताप महराले बताए । उनले भने, ‘गाउँघरमा फोनको लाइन आउँदैन, माथि डाँडा गएर फोन गर्नुपर्छ, समस्या समाधानका लागि टेलिकम सुन्दैन ।

फोन र इन्टरनेट सुविधा नहुँदा कफलकोटमै रहेको रौलेश्वर माविलाई पनि कामकाजमा समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक नरेन्द्र भाटले अनलाइनबाट गरिने कुनै पनि काम गर्न समस्या रहेको बताए । उनले भने, अनलाइनसम्बन्धी काम गर्न निकै समस्या छ । कागजपत्र झोलामा बाकेर सिल्लेगडा, खोचलेक बजार धाउनुपर्ने बाध्यता छ । आकस्मिक फोन गर्नुपरेमा माथि डाँडा उक्लिनुपर्छ ।

टावरले काम गर्न छाडेको विषयमा नेपाल टेलिकम बैतडीलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको यहाँका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको गुनासो छ ।

दोगडाकेदार गाउँपालिका–२ को कार्यालयले टावरले काम गर्न छाडेको र समस्या समाधानका लागि पटकपटक लिखित रूपमा टेलिकमलाई आग्रह गरेको भए पनि हालसम्म पनि समस्या समाधान भएको छैन । टावरमा रहेको समस्याका बारेमा लिखित र मौखिक रूपमा टेलिकम कार्यालयलाई जानकारी गराए पनि समस्या हल नभएको वडा नं २ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए । फोन गर्नकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य छन् । उनले भने, टावरमा समस्या रहेकोबारे पटकपटक लिखित रूपमा पनि आग्रह गरेका छौँ, तर हालसम्म पनि कुनै सुनुवाइ भएको छैन ।

नेपाल टेलिकम बैतडीका प्रमुख नारायण भट्टले धुरा टावरमा टुजी सुविधा नरहेकाले फोनको नेटवर्कमा समस्या भएको बताए । उनले भने, धुरा टावर फोरजीमात्र सञ्चालनमा छ । टुजी नहुँदा फोनमा समस्या भएको हो ।

टुजी थप्ने काम केही दिनमै हुने र नेटवर्कको समस्या समाधान हुने उनको दाबी छ । उनले भने, धुरा टावरमा टुजी थप्ने तयारीमा छौँ । भदौै महिनाभित्र टुजी थप्छौँ । भदौपछि फोन गर्नकै लागि डाँडा चढ्नुपर्ने बाध्यता रहँदैन होला ।

यसका साथै धुरा टावरमा विद्युत्को सिङ्गल फेज लाइनमात्र रहेकाले पनि समस्या आउने गरेको उनले बताए । उनले भने, सिङ्गल फेज लाइनमात्र रहेकाले बिजुली गएको बेला नेटवर्कमा पनि समस्या देखिन जाने गरेको हो । प्रमुख भट्टले धुरा टावर अपग्रेड गर्ने तयारी रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *