कटारी (उदयपुर)। यहाँको उदयपुरगढी गाउँपालिका-०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन्। आज अपराह्न ४ः२० बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका-०७ निवासी ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट मगरको घटनास्थलमै मृत्यु भएको हो। अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका सहचालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका-४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका-१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन्। मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
