काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भइसकेको दाबी गरेका छन् ।
आज (बुधबार) केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको छैन भन्ने सम्मानित नेता झलनाथ खनाललगायतलाई केपी ओलीको पछि लम्पसार पर्न खोजेको आरोप लगाए । उनले एमालेसँग एकताको कुरा गर्ने नेताहरुलाई पार्टी छाडेर जान चुनौती दिए ।
‘एमालेविरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ,’ अध्यक्ष नेपालले भने, ‘विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नुबाहेक केही होइन।’
अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नभएको दाबी गरे । चुनौतीहरु भने आइरहने र त्यसलाई समाना गरिने पनि उनले बताए । नेकपा (माओवादी केन्द्र) बीच एकताको चर्चा चलिरहँदा एकीकृत समाजवादीको ठूलो समूह भने बरु एमालेसँगै एकता गर्नुपर्ने पक्षमा छन् । एमाले पार्टी आफूहरुले बनाएको र आफूहरुको त्यहाँ मेहनत रहेकाले माओवादीभन्दा एमालेसँगै एकता गर्नु उचित हुने ती नेताहरुको तर्क रहेको छ ।
