जुम्ला । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ खल्लाचौर नजिकै रहेको तिला नदीको किनारमा बिहिबार बिहान एक अज्ञात पुरुषको मृत शव भेटिएको छ ।
स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई टेलिफोन मार्फत उक्त घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कायालय जुम्लाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ५ जनाको प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा खटिएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा रहेको छ । प्रारम्भिक जानकारी अनुसार, शवलाई नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीका अनुसार मृतकको नाम, ठेगाना र अन्य विवरण अझै खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको समेत बताएका छन् ।
फोरेन्सिक टोलीले शवको पोस्टमार्टमसहित थप जाँच गर्ने तयारी गरेका छन। स्थानीय बासिन्दाले यस्ता घटनाले समुदायमा बढि चिन्ता बढाएको बताएका छन्।
