काठमाडौं । नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिनुको कुनै कारण नरहेको बताएको छ । आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।
‘उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता गर्ने भन्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । उहाँहरुले औपचारिक रुपमा संसद्लाई जानकारी त गराउनुभएको छैन । त्यसो नगर्नुभएको भए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । किनभने यस बीचमा कुनै कारण नै देखिँदैन उहाँहरुले समर्थन फिर्ता गर्नुपर्ने,’– उनले भने ।
उपमहासचिव ज्ञवालीले जसपा नेपालले केही समय पहिला भूमि अध्यादेशमा विमती राखेको कारण सरकारले त्यसलाई फिर्ता लिएको स्मरण गराए । उक्त भूमि अध्यादेश पनि निष्कृय भइसकेको उनले बताए ।
