जलवायु अनुकूलन कार्यक्रम घोषणा र सङ्घीयता कार्यान्वयनमा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभा सांसदहरूले जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव न्यूनीकरण गर्न जलवायु अनुकूलनका कार्यक्रम घोषणा, भ्रष्टाचार नियन्त्रण र सङ्घीयता कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा उनीहरूले लोकतन्त्रवादी शक्तिबीको एकतामा जोड दिँदै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लैजानुपर्नाका कारणबारे आमनागरिकलाई सुसूचित गराउनुपर्ने बताए । सांसद गोपाल भट्टराईले लोकतन्त्रवादी शक्तिले एकअर्काप्रति आरोप-प्रत्यारोप गरेर जनतालाई भ्रममा राख्ने प्रवृत्तिबाट पछि हट्नुपर्नेमा जोडदिए ।

सांसद उर्मिला अर्यालले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरणका लागि विशेष योजना बनाउन सरकारलाई सुझाव दिए । जलवायु परिवर्तनका कारण अनियमित वर्षा, कृषि उत्पादनमा प्रतिकूलतालगायत समस्या व्यहोर्नु परेको जनाउँदै उनले ती समस्यासँग जुध्न एकीकृत नीति लिनुपर्नेमा जोड दिए ।

सांसद युवराज शर्माले भ्रष्टाचारका घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिँदै राजनीतिको आडमा गरिने भ्रष्टाचार र अनियमितता स्वीकार्य नहुने बताए । सांसद राजेन्द्रलक्ष्मी गैरेले नक्कली भूटानी शरणार्थी, वाइडबडी, एनसेल, विद्युत् महसुललगायत ठूला भ्रष्टाचार र अनियमितताका घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।

सांसद मोहम्मद खालिदले जनसङ्ख्याको अनुपातका आधारमा बजेट विनियोजन नगरेर सरकारले मधेशमाथि अन्याय गरेको बताए । सांसद नारायणदत्त भट्टले भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *