जनार्दनलक्षित वर्षमान पुनको चेतावनी: लिडरसीपलाई कमजोर गर्नेखालको प्रवृत्ति स्वीकार्य छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले पार्टी नेतृत्वविरुद्ध व्यक्तिगत आरोप र लाञ्छना लगाउने प्रवृत्ति स्विकार्य नभएको चेतावनी दिएका छन् । माओवादी केन्द्रकै पदाधिकारी (उपमहासचिव जनार्दन शर्मा) ले अध्यक्ष प्रचण्डविरुद्ध गम्भीर प्रकृतिको आरोप लगाउनुभयो, यो विषयमा पार्टीले नयाँ खालको केही निर्णय गर्छ त भन्ने प्रश्नमा उनले यस्तो चेतावनी दिएको हुन् । यो विषयमा पार्टीको अब बस्ने स्थायी कमिटी बैठकमा गम्भीर छलफल हुने र एउटा निर्णयमा पुग्ने पनि उनको भनाई छ ।

पुनले भने,‘अब यसमा हामी खासगरी गत वर्ष हामी देशव्यापी रुपमा परामर्श बैठक पनि गर्यौं । ठूलो जनवादी अभ्यास गर्यौं । पार्टी केन्द्रीय कार्यालयमा पनि हामी झण्डै हप्ता दिन बहस गर्यौं । जसलाई जे विषयमा बोल्न मन लागेपछि बोल्ने, पार्टीको त्यो फोरममा साथीहरुले झण्डै दुई घण्टा, अढाई घण्टासम्म पनि बोल्नुभयो । त्यसपछि स्थायी कमिटीको बैठक बस्यो, एक हप्ता बस्यो । त्यहाँ पनि बोल्न दिईयो । प्रदेश प्रदेशमा गएर पदाधिकारीहरु गएर खुला खुला छलफल भयो । महिनौं दिन लगाएर छलफल भयो । अनि केन्द्रीय समितिमा आईपुग्दा एक किसिमको एकता पनि पैदा भयो । ६ महिना पार्टीभित्रको संश्लेषण र अनुभवलाई लिएर हामी जनतामा जाऔं । रुपान्तरण हुनुपर्छ भनेर व्यवहारमा हेरौं भनेर जनतासँगको अभियान चलायौं । माओवादी जनतामा आयो भन्ने लहर पनि पैदा भयो । राम्रो भयो । त्यसपछि फेरि के समस्या आयो भने पर्याप्त जनवादको अभ्यास पनि गर्ने, पर्याप्त छलफल पनि गर्ने अनि आफ्नो कुरा बाहिर पनि राख्ने ? यो त राम्रो भएन । यसले पार्टीभित्र अराजकता ल्याउँछ । अनावश्यक ध्रुविकरण र गुटबन्दी ल्याउँछ । पार्टी रुपान्तरण हुँदैछ । राम्रो हुँदा पनि कमसेकम राम्रो भन्नुपर्छ । जनताले स्विकार गर्दा पनि लिडरसिपविरुद्ध व्यक्तिगत आरोप, लाञ्छनाजस्तो लगाउने र लिडरसिपलाई कमजोर गर्नेखालको प्रवृत्ति छ, त्यो स्विकार्य छैन । यसबारेमा हामी स्थायी कमिटी बैठकमा छलफल गर्छौं । बैठक बस्दैछ । यसमा जिम्मेवारीपूर्वक नै छलफल हुन्छ ।’ माओवादीमा रुपान्तरण हुन नचाहनेहरुको बारेमा पनि के गर्ने भन्ने विषयमा कमिटीबाट नै छलफल हुने बताए । रुपान्तरणको लागि तयार हुनेहरुको लागि रुपान्तरण हुने र आन्दोलनमा सँगसँगै जाने कोशिस गराउने पनि उनले बताए ।

उनले माओवादी जनयुद्ध, जनआन्दोलन र आन्दोलनबाट आएको पार्टी भएकोले विचार र राजनीतिलाई केन्द्रमा राखेर हिँडेको बताएका छन् । उनले माओवादीले विचार र राजनीतिलाई केन्द्रमा राखेर विधि, पद्धती र आन्दोलन सञ्चालन गरिरहेको दाबी गरे । नेकपा (माओवादी केन्द्र) को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीले विशुद्ध नोकरशाही संगठनात्मक ढंगलाई मात्रै विश्वास नगर्ने बताए । तर, पार्टीमा नेतृत्वको बारेमा जथाभावी बोल्ने र नेतृत्वको खण्डन गर्ने काम पनि भएको भन्दै आलोचना गरे । उनले भने,‘पार्टीको मूल स्पिरिटलाई दुरुपयोग पनि गरिएको छ । आफूखुशी जहाँ पायो त्यहीँ बोलिदिने, नेतृत्वको बारेमा खण्डन गर्ने, पार्टीबारे बोल्ने, आफ्नो सहयोद्धाबारे जे पनि बोलिदिने, जे पनि टिप्पणी गरिदिने, पार्टीको स्विकृत कार्यदिशाविपरित पनि बोलिदिने काम भएको छ। आफ्नो कुरा हिँड्दै जानेजस्ता समस्या देखिन्छ । माओवादी आन्दोलन स्वयमसेवी आन्दोलन हो । विचार, राजनीति र कार्यशैली मिल्नेहरु सँगै रहेर देश र जनताको हितमा काम गर्ने आन्दोलन हो, यसलाई नै आधार मानेर बहस र छलफल चलाउनुपर्छ ।’ सकेसम्म माओवादीले आत्मअनुशासन स्वेच्छिक केन्द्रित हुनेमा बढि जोड दिएको उनको भनाई छ । पार्टीले उचाईं लिइरहेको बेलामा यस्ताखाले विवाद किन देखिएको भन्ने प्रश्नमा उनले दुई कारण सुनाए ।

उनले भने,‘तपाईं असाध्यै जित्नुभयो भने पनि हौसिएर आफ्नो धरातल छोड्ने, आँफैलाई केन्द्रित ठान्ने र अब कोही पनि छैनजस्तो विचलन आउँछ । त्यसलाई हामी वामविचलन भन्छौं । अर्को भनेको हार्दा चाहीँ भागदौड हुन्छ । अपझस अर्को टाउकोमा हाल्ने काम हुन्छ । त्यसलाई हामी दक्षिणपन्थी विचलन भन्छौं । या आत्मसमर्पणवादी विचलन भन्छौं । केही समय पहिलेदेखि नै विचलन, पार्टी तेस्रो भयो, अलिक सानो भयो भनेर नै विचलनहरु भए, ठूलो पार्टी खोज्ने, मेहनत नै नगरी चुनाव जित्ने, ठूलो समूहबाट स्वार्थ लिने प्रवृत्ति नदेखिएको होईन ।’

माओवादी १८ महिना पछिल्लो समय सरकारको नेतृत्व लिएको र सरकारबाट बाहिरिएपछि पनि सशक्त प्रतिपक्षीको भूमिका खेलेको बताए । पछिल्लो समय सरकारमा १८ महिनामा सरकार सफल भएको उनको दाबी छ । माओवादी आन्दोलनलाई सर्भिसिङ गर्ने काम अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु भएको र यो अभियान सफल भएको पनि उनको दाबी छ । उनले आन्दोलन र नेतृत्व सफल हुँदा अर्को कोणबाट प्रहार भएको र विचलन देखिएको सुनाए । माओवादी आन्दोलन र नेतृत्व (प्रचण्ड) सफल भएपछि बाहिरबाट प्रहार गरिएको र फुट गराउने प्रयत्न भएको पुनको टिप्पणी छ । पार्टीभित्र देखिएको प्रवृत्तिको बारेमा भित्रै संघर्ष गर्ने उनको घोषणा छ । उनले भने,‘पार्टीभित्र देखिएको संघर्षको बारेमा भित्रै बहस, छलफल र रुपान्तरणको कोशिस गर्छों । तर, पार्टीबाहिरबाट हुने आक्रमणलाई हामी पार्टीलाई एकताबद्ध गरेर हामी सामना गर्छौं । हाम्रो कमजोरी स्विकारेर जनताको बीचमा जान हामी तयार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *