काठमाडौँ । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा चोर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ । जेठ ३१ मा रेडपाण्डाको मृत्यु भएको हाे ।
वैशाख ३० मा राति दुई जनाले नियन्त्रणमा लिएर रेडपाण्डालाई झोलामा राखेर कम्पाउन्ड बाहिर लैजाने प्रयास गरेका थिए । रेड पाण्डा कराएर चिडियाखानाको कर्मचारीले थाहा पाएपछि चोरीमा संलग्नहरू निगालो घारीमा पाण्डालाई छाडेर भागेका थिए ।
चोरीमा संलग्न धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएका २६ वर्षीय मोहमद तफिकलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । आरोपीहरुविरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चिडियाखानाबाट रेडपाण्डा चोरीको प्रयासबारे आन्तरिक छानबिन गरिरहेको छ । आरोपीहरूले दोस्रो प्रयासमा रेडपाण्डालाई झोलामा राखेर चिडियाखानाको कम्पाउन्ड बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।