काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारीहरुको बैठकले कांग्रेस–एमाले गठबन्धनको आयु २०८४ को निर्वाचनसम्मै रहने निष्कर्ष निकालेको छ । आज (सोमबार) नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला, प्रवक्ता डा.प्रकाशशरण महतले छलफल गरेका थिए ।
पूर्वमहामन्त्री सिटौलाका अनुसार आजको बैठकका देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको थियो । ‘देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्यौं । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर हामीले नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका प्रकाशमानजीलाई भनेका छौं । उहाँले प्रधानमन्त्रीसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावनाबमोजिम सरकारले व्यापक रुपमा काम गर्न सकोस्, आजको हाम्रो मान्यता रहेको छ,’– उनले भने ।
साथै, बैठकमा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने विषयमा पनि छलफल भएको नेता सिटौलाले बताए । सरकार बन्दाखेरी पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको समझदारीमा भएको महत्वपूर्ण बुँदा नै संविधान संशोधन रहेको बताउँदै उनले सरकार त्यसतर्फ अगाडि बढ्नपर्ने धारणा राखे । आजको बैठकमा छलफल भएको विषय भोलि पार्टी सभापतिलाई भेटेर जानकारी गराइने पनि उनले बताए ।
साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकार २०८४ को निर्वाचनसम्मै चल्नुपर्छ भन्ने धारणा आजको बैठकको रहेको पनि उनले बताए । ‘यो कांग्रेस र एमालेको गठबन्धनको सरकार हो । गठबन्धनको भावनाबमोजिम सरकारले काम गर्नुपर्छ र यो गठबन्धन चाहिँ २०८४ को निर्वाचनसम्म नै जान्छ, जानेगरी विश्वासको आधारमा सरकारले अझ राम्रोगरी काम गर्छ भन्ने हाम्रो धारणा रहेको छ,’– नेता सिटौलाले भने ।
