दाङ । घोराही उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। सोमबार नगरसभाको १७औं अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
विगतका वर्षदेखि सञ्चालनमा रहेका लाभदायक कार्यक्रमको निरन्तरतासँगै स्थानीय स्रोतसाधनको उपयोग गर्दै पालिकाको गौरव बढाउने किसिमका आयोजनालाई प्राथमिकता दिने र टुक्रे आयोजनालाई निरुत्साहित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए।
नीति तथा कार्यक्रममा कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकता दिँदै नगरलाई समृद्ध बनाउने कार्यक्रम अवलम्बन गरिने उल्लेख छ। घोराहीको पहिचानलाई अझ माथि उठाउनसक्ने योजनालाई अघि सारिएको छ।
उपमहानगरले किसानलाई समयमै कृषि सूचना आदानप्रदान गर्ने, समस्या पर्दा प्राविधिक सहयोग बढाउने, चालू आवदेखि कार्यान्वयनमा ल्याइएका घोराही कृषि मोबाइल एपमा किसानको पहुँच विस्तार गर्ने जनाएको छ।
खाद्यान्न बाली, तेलहन, दलहनलगायत मुख्य बालीमा आत्मनिर्भरता हासिल गर्न, निर्यात प्रवद्र्धन गर्न, मूल बीउ तथा उन्नत जातका बिउमा कृषकलाई दिइँदै आइएको अनुदान कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘स्वस्थ पशु स्वच्छ उत्पादन’अन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र ‘डोर टु डोर’जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलहरी, शारीरिक अशक्त, एकल महिला भएका परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने, खेतीबालीमा अर्गानिक मल प्रयोग बढाउन गाई, भैँसीको भकारो सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ।
बाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले भूमि बैंकसम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ।
यसैगरी पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना र मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने भएको छ। आयोजनाको गुणस्तर परीक्षण गर्न घोराही उपमहानगरको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाका लागि आवश्यक पूर्वाधार तयारीको सुरुआत गरिने भएको छ।
संघ तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन नापनक्सासम्बन्धी कार्यलाई आवश्यक जनशक्ति परिचालन गरी तदारुकताका साथ अगाडि बढाइने उल्लेख गरिएको छ।
यसैगरी विद्यार्थीको संख्यालाई मुख्य आधार मानी नमुना विद्यालयको पुनरवलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
खानेपानी, शौचालय, फर्निचारलगायत अत्यावश्यक पूर्वाधार व्यवस्थापन गर्दै नमुना सामुदायिक विद्यालयलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिने भएको छ।
थारु भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिने नीति तथा कार्यक्रममा समावेश छ। मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाई सञ्चालन गरिने, विद्यार्थी सङ्ख्याका आधारमा बालविकास केन्द्र, प्रावि, निमावी तथा मावि तहमा कार्यरत शिक्षकको विषयगत एवं शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान गरिने भएको छ।
वडा नं १६ को नेत्रलाल स्मृति रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण अगाडि बढाइने नगरप्रमुख चौधरीले बताए। उनका अनुसार महिलाको स्वास्थ्यका क्षेत्रमा पनि प्रभावकारी कार्यक्रम गर्ने नीति अख्तियार गरेको छ।
प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी नगरवासी महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना परामर्श साथै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षण तथा पाठेघर खस्ने र अन्य प्रजनन स्वास्थ्य समस्याको स्क्रिनिङलगायत सेवा सञ्चालन गरिने भएको छ।
समावेशीकरणको दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम समुदाय, पिछडा वर्ग, सीमान्तकृत, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न नागरिकको संरक्षण, सशक्तीकरण र आर्थिक उत्थानका कार्यक्रम सञ्चालन गरिने भएको छ।
दलित, मुस्लिम, पिछडा वर्ग आदिवासी÷जनजाति समुदायमा अत्यधिक प्रचलनमा रहेको बालविवाह न्यूनीकरण गर्न ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने अभियानलाई निरन्तरता दिइने भएको छ।
बालमैत्रीका सूचकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तथा विभिन्न महाशाखा÷शाखासँग समन्वयात्मक ढंगबाट कार्यक्रम सञ्चालन गरिने भएको छ भने सन् २०२६ सम्म घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणा तथा लैंगिक हिंसा नियन्त्रण गर्न सूचकबमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक एवं संरक्षणात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ।
शून्य वा न्यूनतम फोहरमैला वा फोहर पानी उत्सर्जन गर्ने उद्योगलाई प्रोत्साहन गरिने, निजी क्षेत्रको सहभागितामा सञ्चालन हुने मानव मलमूत्रजन्य फोहर, ठोस फोहर पदार्थ र फोहरपानीबाट ग्यास, ऊर्जा, मल तथा अन्य लाभकारी वस्तुको उत्पादन गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘नगर–वडा समपूरक कार्यक्रम’अन्तर्गत खरको छानामुक्त कार्यक्रमलाई निरन्तरता दिँदै खरको छानामुक्त वडा हुँदै क्रमशः खरका छानामुक्त नगर घोषणा गरिने उल्लेख छ।
पालिकाबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रशासनिक संयन्त्र चुस्तदुरुस्त बनाई कर्मचारीको आवश्यकताका आधारमा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ।
नगरप्रमुख चौधरीले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दिगो विकास लक्ष्य, सरकारको सोह्रौँ योजनाको मार्गदर्शन, संघीय तथा प्रदेश सरकारको नीति तथा प्राथमिकता, उपमहानगरपालिकाको एकीकृत सहरी विकास योजना, आवधिक योजना साथै नगरको विशिष्ट सम्भाव्यता र आवश्यकता तथा नगरबासीको समन्वयमा नीति तथा कार्यक्रमले सार्थक परिणाम पाउने बताए।
घोराही उपमहानगरको नगरसभा सदस्य ९८ जना छन्। सोमबार सार्वजनिक भएको नीति तथा कार्यक्रमको दफाबार छलफलपछि पारित हुनेछ। नगरसभाको अर्को बैठक जेठ २९ गते दिउँसो २ बजेका लागि तोकिएको छ।