काठमाडाैँ । पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्णय नमान्ने पार्टीका ६ नेतामाथि कारबाही गरेका छन् । हिजो बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० दलको एकता भएको थियो । सोही दिनको मिति राखेर नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसहितका ६ जना नेतालाई अध्यक्ष नेपालले कारबाही गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले गरेको कारबाहीको पत्रमा हिजो कार्तिक १९ गतेकै मिति राखिएको छ । तर हिजो चर्चामा नआएको कारबाहीको प्रसंग र आजमात्र सार्वजनिक गरिएको पत्र, हिजै घनश्याम भुसालले एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने भन्दै दिएको अभिव्यक्ति भछि आएको भन्दै तर्क एकथरीले गरेका छन् ।
कारबाहीको पत्रमा नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय उल्लंघन गर्दै अलग गतिविधि गरेको आरोप लगाइएको छ ।
कारबाहीको पत्र

पत्रमा पार्टी केन्द्रीय सचिवालयको २०८२ कार्तिक १९ गतेको बैठकले कारबाहीको निर्णय गरेको उल्लेख छ । कारबाही पत्रमा उल्लेख गरिएको छ, ‘पार्टीले २०८२ कार्तिक १२ देखि १४ गतेसम्म सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको ‘नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने’ भन्ने निर्णय विपरीत भेला र पत्रकार सम्मेलनजस्ता गतिविधि गरेको ठहर गर्दै पार्टी सदस्य नै नरहने गरी कारबाही गरिएको छ।’
पार्टीको विधानको धारा १२० र १२१(२) बमोजिम कारबाही गरिएको कारबाही पत्रमा उल्लेख छ । पार्टीका अनुसार अब उनीहरूले पार्टीको नाम र पद प्रयोग गरी कुनै पनि बैठक, भेला वा पत्रकार सम्मेलन गरेमा थप कारबाही हुनेछ।
कारबाहीमा परेका नेताहरूमा धनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) रहेका छन्।
