गोरखा । गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । आर्थिक वर्ष २०८२/०८३ सुरु भएसँगै भू–उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक र भीमसेनथापा गाउँपालिकामा जग्गाको कित्ताकाट रोकिएको हो ।
मालपोत कार्यालयले ती पालिकाको कित्ताकाट नहुने भएपछि जग्गा खरिदबिक्री पनि रोकिएको जनाएको छ । जिल्लाका ६ पालिकाले भने आधार तथा मापदण्ड, नक्सा अद्यावधिकलगायतका काम सम्पन्न गरिसकेका छन् ।
पालुङटार नगरपालिका, अजिरकोट, बारपाक सुलिकोट, आरुघाट, सहिदलखन र गण्डकी गाउँपालिकाले जग्गा वर्गीकरणको काम सम्पन्न गरेका हुन् ।
जग्गा वर्गीकरण गरिसकेका पालिकाको हकमा खरिदबिक्रीमा कुनै समस्या नआउने प्रमुख मालपोत अधिकृत जगदीश मिश्रले बताए । अन्यको हकमा भने खरिदबिक्रीको काम रोकिएको उनले जानकारी दिए ।
