काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएकी छन् । आज (शनिबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनाम दिएर भिजिट भिसा प्रकरण छानविनम सघाउ पुर्याउन आग्रह गरेकी हुन् ।
‘तपाईँसँग नैतिकता छ भने राजीनामा गर्नुस् । छानविनलाई सघाउ पुर्याउनुस् । निष्पक्ष रुपबाट छानविन गर्नलाई सरकारलाई सहयोग गर्नुस् । नेपाली जनताहरुलाई भिजिट भिसाको प्रकरणबाट मुक्त गर्न सहयोग गर्नुस्,’– उनले भनिन् ।
साथै, सबै जना एक दिन प्रतिपक्षमा आउनुपर्ने बताउँदै उनले गृहमन्त्री लेखकलाई धेरै फुर्ती नलगाउन समेत चेतावनी दिईन् । उनले भनिन्, ‘गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुस् । किनभने एकदिन यस्तो समय आउँछ, तपाईँ पनि त्यो ठाउँबाट ओल्लो छेउमा आउनुहुन्छ । त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?’
साथै, उनले गृहमन्त्री लेखकले भिजिट भिसाको नाममा दैनिक ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म असुली गरेको आरोप लगाईन् । उनले गृहमन्त्री लेखकले जनतालाई भिजिट भिसाको नामा बेचेको दाबी गरिन् ।
