गाजा पूर्ण रूपमा कब्जा गर्ने प्रस्ताव इजरायलको सुरक्षा मन्त्रिपरिषदद्वारा पारित

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार बिहानको बैठकमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ।

प्रधानमन्त्री नेतान्याहूको कार्यालयले यसबारे एक विज्ञप्ति जारी गरेको छ। यसले गाजाको नियन्त्रणका लागि सहमति भएका योजनाहरू र “युद्ध अन्त्यका लागि पाँच बुँदे” प्रस्तावको विवरण दिन्छ।

यसलाई मन्त्रिपरिषद्ले बहुमतले पारित गरेको बताइएको छ। यसमा भनिएको छ, “आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्नेछ,” र “युद्ध अन्त्य गर्न” पाँच बुँदामा काम गर्नेछ।

पाँच बुँदामा हमासको निशस्त्रीकरण, सबै बन्धकहरूको फिर्ती – जीवित र मृत, गाजामा निशस्त्रीकरण, इजरायलले गाजाको सुरक्षा नियन्त्रण लिने र हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार समावेश छन् ।

बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले भने, “हामी सम्पूर्ण गाजामाथि नियन्त्रण चाहन्छौं। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी हमासलाई त्यहाँ (गाजा) बाट हटाउन चाहन्छौं… हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *