कञ्चनपुर । पूर्खौँदेखि चलनचल्तीमा रहेको थारु समुदायको प्रथाजनित वडघर÷भलमन्सा प्रणालीलाई व्यवस्थित गर्न स्थानीय तहले जारी गरेका ऐन कार्यान्वयन हुन सकेका छैनन् ।
ऐन कार्यान्वयनमा ल्याउन कार्यविधि तथा नियमावली बनाएर लागू गर्नेमा थारु अगुवाको जोड छ । आदिवासी जनजाति समुदायको वडघर÷भलमन्सा ऐन कार्यान्वयन नहुँदा अलिखित (मौखिक) रुपमा चल्दै आएको छ । अलिखित कानुनमा अभ्यस्त थारु समुदायलाई लिखित कानुन प्रणालीमा आबद्ध गरी व्यवस्थित गरिनुपर्ने नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् शुक्लाफाँटा कञ्चनपुरका अध्यक्ष हवल्दार चौधरीले बताए ।
“लोकतान्त्रिक पद्धतिमा आधारित थारु समुदायको आफनै विशिष्ट परम्पराद्वारा सञ्चालित वडघर प्रथालाई कानुन बनाएर व्यवस्थित गर्न कञ्चनपुरका शुक्लाफाँटा, बेलौरी र कृष्णपुर लगायतका नगरपालिकाले ऐन बनाएका छन्”, उनले भने, “ऐन कार्यान्वयनका लागि कार्यविधि र नियमावली बनाएर लागू नहुँदा ऐन कार्यान्वयनमा आउन सकेको छैन ।”
अरु जिल्लाका पालिकाले बनाएर लागू गरेका ऐनको सिको गरेर बनाइएको उल्लेख गर्दै उनले जिल्लाको भौगोलिक विशिष्टता, थारु समुदायका रहनसहन, चालचलन अनुसारको प्रचलित अलिखित रुपमा चल्दै आएको वडघर प्रथा मिल्दो ऐन बनाइनुपर्ने बताए ।
“प्रथाजन्य कानुनलाई सञ्चालन गर्न परम्परागत संस्थाको महत्वपूर्र्ण भूमिका रहन्छ”, उनले भने, “वडघर प्रथा समुदायअनुसार भिन्नभिन्न तरिकाले सञ्चालन भइरहेका हुन्छन्, ती सबै कुरालाई ध्यानमा राख्दै ऐन परिमार्जन गर्न जरुरी रहेको छ ।” ऐन, कार्यविधि र नियमावलीमा प्रष्टसँगै वडघरलाई गाउँको संस्कृति संरक्षण, रीतिथिति बसाल्ने, न्यायनिसाफ बसाल्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने र वडघरका पदाधिकारीलाई पहिचान दिलाउन परिचपत्रको व्यवस्था उल्लेख हुनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार नेपालको संविधानले आदिवासी जनजाती समुदायको सामाजिक परम्परा, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने नीति लिएको छ । थारु समुदायमा लोकतान्त्रकि पद्दतिअनुसार चयन हुने वडघरले गाउँको रीतिथिति बसाल्ने संस्कृतिको संरक्षण गर्ने, न्याय निसाफ छिन्ने, विकास निर्माणका कार्यमा जनसहभागिता जुटाउने कार्य गर्दछन् ।
त्यसैले संविधानले दिएको अधिकार प्रत्याभूत गराउनका लागि वडघर ऐनलाई कार्यान्वयन गर्न आवश्यक रहेको उनी बताउँछन् । प्रथाजनित कानुनको महत्वपूर्ण पक्ष भनेकै यस अन्तरगतका संस्था कानुन र प्रक्रियामा समुदायको पूर्ण नियन्त्रण तथा स्वामित्व रहने गर्दछ । “यस्ता कानुनमा गल्ती गर्नेले पीडितलाई क्षतिपूर्ति दिई सजायमा पुनःस्थापन हुने सिद्धान्तमा अडिग हुने गर्दछन्”, उनी भन्छन्, “अलिखित रुपमा रहने यस्ता कानुन नैतिक बन्धनकारी मात्रै हुन्छन् ।”
मेलमिलापसम्बन्धी ऐन २०६८ को दफा ३३ र ३४ ले सामुदायिक मेलमिलापको विशेष व्यवस्था गरेको छ । यसबाट न्यायमा विविधिकरणको व्यवस्थाको सुरुवात भएको थारु अगुवा दुर्गा चौधरीले बताए । थारु समुदायको परम्परागत न्याय प्रशासन र प्रथाजन्य कानुनलाई मान्यता दिएर न्यायमा आदिवासी जनजातीको सहज पहुँच तथा मेलमिलापमा आधारित न्याय प्रणालीलाई संस्थागत गरी बदलिँदो परिवेश सुहाउँदो न्यायिक प्रणालीको विकास गर्न जरुरी रहेको उनी बताउँछन् ।
“हाल लागू भएको देवानीसंहिता अन्तर्गतका व्यवस्थामा प्रथाजन्य कानुनको अस्तित्वलाई अङ्गीकार गरिएको छ”, उनले भने, “न्यायप्रशासनमा नेपाली भाषाका अलावा अन्य मातृभाषालाई मान्यता नदिएका कारण मातृभाषी थारु समुदायले सार्वजनिक निकायमा प्रष्टसँग कुरा राख्न नसक्ने स्थिति भोग्दै आएका छन् ।”
समुदायलाई लिखित कानुन प्रणालीमा समावेश गरी न्यायिक पुनःसंरचनमा समावेश गर्न आवश्यक रहेकामा उनी जोड दिन्छन् । प्राचीनकालदेखि चलिआएको गाउँ समाजलाई नेतृत्व दिन सक्ने, परम्पराअनुसारको सामाजिक संरचना सञ्चालन गर्नसक्ने, गाउँमा परिआएको समस्या समाधान गर्न सक्ने, गाउँको रीतिरिवाज, परम्परा, संस्कृति आदीको संरक्षण गर्नसक्ने, गाउँका गुरुवा, भर्रा, केसौका, चौकिदार लगायतको चयन तथा नेतृत्व दिन सक्ने प्रथा नै वडघर रहेको थारु बुद्धिजीवी बलबहादुर डगौरा बताउँछन् ।
“वरघर प्रथाको प्रचलित शासन प्रणाली विगतका शासकले उपेक्षा गरेका कारण राज्य व्यवस्थाले अङ्गालेको शासन प्रणालीमा अटाउन नसकेको हो”, उनले भने, “वडघर प्रणालीमा भएका राम्रा पक्षलाई प्रचलित शासन प्रणालीमा समावेश गर्ने कार्यसँगै यसलाई दर्शन शास्त्रको रुपमा विकसित गर्ने काममा थारु र राज्यले यसमा ध्यान नदिँदा यो प्र्रणाली ओझेलमा परेको छ ।”
वडघर प्रणालीलाई हाल कतिपय पालिकाले कानुनी मान्यता दिनका लागि ऐन पारित गरिसकेका छन् । केही गर्ने तयारीमा छन् । ऐनमा भएका प्रावधानले यो प्रणालीमा भएको प्राचीनतालाई संरक्षण गर्न सक्छ वा सक्दैन भन्ने विषयमा प्रयाप्त बहसको खाँचो रहेको उनी बताउँछन् ।
यस प्रणाली अन्तर्गतका वडघरदेखि चौकीदारसम्मले आर्थिक आर्जन नहुने भएकाले यो प्रणालीबाट विकर्षण हुँदै जाने सम्भावना देखा पर्दै गएको उल्लेख गर्दै उनले राज्यसँग जस्तै वरघरसँग बाध्यकारी शक्ति नहुँदा यसको प्रभावकारिता कमजोर हुँदै गएको बताए । उनका अनुसार यस प्रणालीको लिखित दस्तावेज नहुँदा आधुनिक राजनीतिक सिद्धान्त वा प्रणालीको अनुशरणमा नहुँदा व्यक्तिअनुसारको व्याख्या र कार्यान्वयन रहेको देखिन्छ । यस प्रथाअनुसार न्यायप्रणाली व्यक्तिको सोच, क्षमता, निर्णयले हुने गरेको छ ।
यस प्रणालीले जहिले पनि मनोमानी गर्न सक्ने र कमजोरले न्याय नपाउने सम्भावना अधिक रहन्छ । वडघर प्रणालीअन्तर्गत चयन हुने पदाधिकारीलाई प्रभावशाली व्यक्तिले समग्र गाउँका बासिन्दालाई देखाएर राजनीतिक लाभ लिनसक्ने सम्भावना उत्तिकै रहनेमा उनी जोड दिन्छन् ।
उनी भन्छन्, “वडघर÷भलमन्सा प्रणालीलाई दर्शन शास्त्रका रुपमा विकसित गर्दै लैजानुपर्छ, आवश्यकताअनुसार मौलिकता र प्राचीनताको समिश्रण गरी रुढिवादिता लगायतका कमीकजोरीलाई हटाउँदै परिमार्जन गर्दै लैजानुपर्छ, थारु समुदायको कथा, कहानी, मन्त्र, गीत कहकुट आदिको अध्ययन हुनुपर्छ ।” छुट्टै पहिचान, भाषा, संस्कृति र रीतिरिवाज रहेको थारु समुदाय नेपालको पूर्वको मेचीदेखि पश्चिमको कञ्चनपुरसम्मको भू –भागमा अर्थात् २५ जिल्लामा सदियौंँदेखि बसोबास गर्दै आएको छ ।
नेपाल सरकारले २०७८ सालमा गरेको जनगणनामा देशको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेकामा थारु जातीको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । जुन कूल जसङख्याको छ दशमलव दुई प्रतिशत रहेको छ । त्यसमा राना थारु समुदायको शून्य दशमलव २९ प्रतिशत रहेको छ । नेपालका आदिवासी जनजातीको सूचीमा ६० बढी जातजाती सूचिबद्ध गरिएका छन् । त्यसमा थारु र राना थारु समुदायलाई छुट्टाछुट्टै रुपमा सूचीकृत गरिएको छ ।