गण्डकी । गण्डकी प्रदेशको तनहुँ, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।
प्रदेशका बाँकी सात जिल्ला पनि पूर्णखोप सुनिश्चितताको अभियानमा जुटेका छन् । आगामी असारभित्रमा ती जिल्ला पनि पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा हुने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तनहुँ र बागलुङलाई शुक्रबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । म्याग्दीलाई गत वैशाख २८ गते र मनाङलाई यही जेठ ७ गते घोषणा गरिएको थियो । पहिलोपटक २०७५ सालमा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
जिल्ला खोप समन्वय समिति बागलुङका सदस्यसचिव घनश्याम सापकोटाले जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको बताए । जिल्लाका तीन हजार ५५२ बालबालिकाले उमेरअनुसार पाउनुपर्ने सबै खोप पाएको उनको भनाइ छ ।
“कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको अवस्थामा पूर्णखोप सुनिश्चित घोषणा गर्ने गरिएको छ, घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन हुने गर्छ”, उनले भने । खोप लगाउनबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनेर खोजीखोजी खोप लगाउने गरिएको सदस्यसचिव सापकोटाले बताए ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले खोप कार्यक्रम तीनै तहका सरकारको प्राथमिकतामा रहेको बताए । नियमित खोप पाउनु बालबालिकाको अधिकार रहेकाले उनीहरूलाई खोप दिलाउनु राज्यको दायित्व रहेको उनको भनाइ छ । माृत तथा नवजातशिशु मृत्युदर घटाउन पूर्णखोप अभियानले सहयोग पुर्याइरहेको मन्त्री पाठकले बताए । प्रदेशका झन्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको उल्लेख गर्दै उनले सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने बताए ।