काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाज प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले व्यक्ति र समाज खुसी रहन स्वस्थ्य रहनुपर्ने र त्यसका लागि खेल आवश्यक पर्ने बताए ।
खेल र स्वास्थ्यको प्रसङ्ग जोड्दै उनले भने, “खेलले स्वस्थ्य जीवन प्रदान गर्छ । स्वस्थ्य जीवनमा मात्र खुसी प्राप्त गर्न सकिन्छ । मन र शरीरलाई कसरी स्वस्थ्य राख्ने औपचारिक शिक्षामा समावेश हुन अझै सकेको छैन ।”
विकेन्द्रीकृत कार्यक्रमबाट वडालाई सशक्त बनाउने र नागरिकका ढोकामै कार्यक्रम पुर्याउने महानगरपालिकाले नीति लिएको कामपाको उपप्रमुख सुनिता डङ्गोलको भनाइ छ । उनले भनिन्, “वडाबाट नै जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु यसको उदाहरण हो ।” वडासँगै केन्द्रबाट पनि खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिइन् ।
उनले खेलकुदमा सबैलाई अवसर प्रदान गर्ने कार्यक्रम उल्लेख गर्दै भनिन्, “दृष्टिविहीनहरूका लागि फुटसल, ह्विलचेयर प्रयोगकर्ताहरूका बीचमा बास्केटबल प्रतियोगिता, पूर्ण अशक्त र अति अशक्तहरूका लागि बोसिया खेल सम्पन्न गरेका छौँ । हामी चाहन्छौँ, अवसर पाइन भनेर कसैले गुनासो गर्नु नपरोस् ।”
“यो सुरुआत मात्र हो । यसलाई थप बृहत् र परिष्कृत गर्दै लैजाने कामपाको तयारी छ,” कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले भने “हरेक वर्ष यसप्रकारको प्रतियोगिता सञ्चालन गर्ने योजना छ । प्रतियोगितामा फुटसल, टेवुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।”
खेल संयोजक प्रवेश श्रेष्ठ भन्छन्, “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबललगायत खेलका लागि पूर्वाधार उपलब्ध भएकाले प्रतिस्पर्धा गराउन सजिलो भएको हो । सबै विधामा गरेर करिब एक हजार खेलाडीहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।”
आइतबारदेखि सुरू भएको खेल यही असार ८ गतेसम्म सञ्चालन हुने कामपाले जानकारी दिएको छ ।