तनहुँ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई रु एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए ।
गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनले बताए । गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए ।
रु २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले बताए । यहाँ रु २५ हजारदेखि चालिस हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५०, रु ६० हजारदेखि ८० हजारसम्म २५ र रु ८० हजारदेखि रु एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।
