काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रेम बहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समितिले महानिर्देशकसहित ८ जनालाई कारबाहीको सिफारिस गरेकामा आजसम्म कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए । क्यानका निर्देशक अधिकारीसहित ८ जनालाई तत्काल निलम्बन गर्न माग गरे ।
‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सार्वजनिक लेखा समितिले जेठ ७ गते अनियमितता ठहर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको लागि सिफारिस गरेको थियो । आज करिब ४७ दिन भइसकेको छ, न ती पदाधिकारीहरु निलम्बन भएका छन्, न कारबाही प्रक्रिया अगाडि बढेको छ । क्यानका महानिर्देशकलगायत ८ जनालाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन म माग गर्न चाहन्छु,’– उनले भने ।
