विराटनगर। कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ।
सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो। उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए।
यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्ताव गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो।
आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट निर्माण गर्दा आम नागरिकको भावना र चाहनालाई केन्द्रमा राखी गरेको जानकारी दिँदै बजेटमा कसैमाथि अन्याय भएको दाबी गरे।
‘बजेटमा सन्तुलन कायम छ, बजेट निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्षलाई नहेरी जनताको आवश्यकताका योजना र चाहनालाई समावेश गरिएको छ’, उनले भने, ‘नदीजन्य पदार्थ, वनजङ्गल, मालपोत र यातायातका क्षेत्रबाट उल्लेखनीय राजस्व संकलन गर्न प्रदेश सरकार योजनाबद्ध रुपमा लाग्नेछ।’
