कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ ।

निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए ।

उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले उल्लेख गरे । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

प्रमुख डा सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए । उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव-हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले १० लाख रूपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि २५ हजारदेखि एक लाख रूपैयाँसम्म उपलब्ध गराउँदै आइएको निर्देशनालयका प्रमुख डा सापकोटाले जानकारी दिए ।

उनले प्रदेश सरकारले मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बिमा कार्यक्रमका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *