काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद तोकेर सरकारले निर्वाचन गराउँछु भन्नु काल्पनिक कुरा भएको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकार कार्यादेश अनुसार चल्नै नसकेको बताएका हुन् ।
‘प्रमुख पार्टीको नेतालाई स्थान हद तोक्ने अनि चुनाव गर्छु भन्ने कुरा चुनाव गर्ने बाटो होइन’, पोखरेलले भने– ‘स्थानहद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
उनले नेपालको इतिहासमा विभिन्न कालखण्डमा राज्यको बल प्रयोगबाट विभिन्न क्षति भए पनि प्रधानमन्त्रीलाई दोष देखाउने काम नभएको भन्दै लोकतान्त्रिक व्यवस्थाभित्र बल प्रयोगको अधिकार जसलाई दिएको छ उसैले गर्ने समेत बताए ।
उनले संविधान, संसद् र जनताले समेत नचिनेको यो सरकार असंवैधानिक भएकाले एमाले संसद् पुनर्स्थापनाको पक्षमा उभिएको भन्दै उनले यो मुद्दामा अदालतले समेत विगतको नजिरलाई आधार मानेर पुनर्स्थापना हुनेमा विश्वस्त हुन सकिने बताए ।
जेनजी आन्दोलनपछि सुरक्षा कायम गर्ने निकाय नेपाल प्रहरीको मनोबल खस्किएको अवस्थामा सरकारले शान्ति सुरक्षामा ध्यान दिन नसकेको समेत बताए । उनले यसबारे नेपाली कांग्रेससँग संवाद गरेर साझा दृष्टिकोण बनाउने तयारी गरेको समेत बताए ।
