काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता मनिष झाले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानी छानविन गर्ने बनेको विशेष छानविन समितिमा आफूहरुको सहमति र सहभागिता रहने बताएका छन् ।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विशेष छानविन समितिमा आफूहरुको सहभागिता रहने तर जुन दलको नेतामाथि प्रश्न उठेको छ, त्यही दलको नेताले सो समितिको नेतृत्व गर्न नहुने बताएका हुन् ।
‘विशेष छानविन समिति बन्दैछ भन्ने कुरा थाहा पायौं । संसदीय अभ्यासमा त्यसमा हाम्रो सहमति र सहभागिता पनि रहने छ,’ नेता झाले भने, ‘जुन दलसँग सम्बन्धित नेतामा औंला उठेको थियो, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा एक वर्ष अगाडि यो सदनमा चलेको थियो । तर, आज त्यो अभ्यास बिर्सिदै हुनुहुन्छ ।’
साथै, उनले प्रतिपक्षी दलहरुले वर्तमान सरकार ढल्छ भनिरहँदा आफूहरुले भने नढलोस् भन्ने चाहेको बताए । उनले आफूहरुलाई यो सरकार कति गिर्छ भन्ने हेर्न बाँकी रहेको बताए । ‘यो सरकार नढलोस्, किनकी कति गिर्छ भन्ने हेर्न बाँकी छ,’– उनले भने ।
