‘कुलिङ पिरियड’ बारे कांग्रेस-एमालेबीच नै कुरा नमिलेकाे हाे, रास्वपा बाधक बन्दैन: मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कुलिङ पिरियडमा कुरा नमिलेको कारण संघीय निजामती विधेयक रोकिएको बताएका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरु विधेयकको बाधक नरहेको बताए । कांग्रेसले कुलिङ पिरियड राख्न चाहेको र एमालेले नचाहेको कारण रास्वपाका सांसदहरुले विरोधस्वरुप बाँधेको निलो रिबनलाई बहाना बनाइएको उनले बताए ।

‘अस्ती यो रिवनको बहानाले सदन अवरुद्ध गरिएको मात्रै हो । संघीय सदनको राज्य व्यवस्था समितिमा उपसमिति बनाएर उहाँहरुले त्यसमा महिनौंसम्म काम गर्नुभयो । त्यसलाई समितिमा बुझाउनुभयो । समितिले त्यसको स्वामित्व लियो, समितिले छलफल गर्यो । एउटा राज्य व्यवस्थाजस्तो वापरफूल समितिले त्यसको स्वामित्व लियो । यहाँ आएर माननीय सभापतिज्यूले रोष्ट्रमबाट बोल्नुभयो । अर्को दिन पार्टीबीचमा मतभेद भयो र गठबन्धनमा मतभेद भएर त्यो त्यही रोकियो । एउटा पार्टीले कुलिङ पिरियड मान्छु भन्यो, अर्कोले मान्दिनँ भन्यो, कर्मचारीले घरदैलो गर्यो, देउसीभैलो खेल्यो, थर्कायो । त्यो सबै कारणले रोकियो । उहाँहरुलाई बहाना चाहिएको थियो, रिबनको बहाना देखाइदिनुभयो,’– उनले भने ।

उनले संघीय निजामती विधेयक, नागरिकता विधेयकलगायतमा आफूहरु बाधक नबन्ने बताए । नागरिकता नपाएर पीडित बनेकाहरुको पीडा आफूहरुले महसुश गर्न सक्ने उनले बताए । ‘संघीय निजामती विधेयक जुन बनेको छ, त्यसमा हाम्रो पार्टीको संलग्नता पनि छ । हाम्रो पार्टीको तर्फबाट प्रोफेसर डा.चन्दा कार्कीज्यू सदस्य हुनुहुन्छ । उहाँले नै उपसमितिमा काम गर्नुभयो । नागरिकता विधेयक पास नभएको कारण हजारौं मान्छेहरु पीडित छन् । त्यसको पीडा पनि हामी बुझ्न सक्छौं । यो हामी बाधक होइन, उहाँहरुले बहानाको रुपमा राख्नुभयो,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *