काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको जालसाझीलाई विश्व इतिहासकै निकृष्ट र लाजमर्दो भनेका छन् ।
कुलिङ पिरियडको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्र्दै उनले भनेका छन्, ‘कूलिङअफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामापछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले यस घटनालाई उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्य दोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुन सक्ने रहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाणको रुपमा उल्लेख गरेका छन् । उनले यस घटनाको जति भर्त्सना र निन्दा गरे पनि कम हुने उल्लेख गरेका छन् ।
उनले अब टालटुले सुधारले नहुने बताउँदै देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गर्नुैपर्ने आवश्यकता औंल्याएका छन् ।
