बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकैबारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ ।
त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् । बेलाबेला उनी थाल बजाउँदै चिच्याउँछिन् । यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उनी बताउँछिन् ।
‘यो थाल र लौरो त मेरो साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला ग¥यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एकैछिनमा ५०/६० वटा बाँदरको समूह आएर मकै एकैछिनमा सखाप पार्छ’, थापाले भनिन्, ‘यतिबेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरिदिन्छ ।’
अब मकै नभित्र्याउँदासम्म बारीमै बास हुने उनले सुनाइन् । एक दशक अगाडिसम्म गाउँमा बाँदर फाटफुट आए पनि हालको जस्तो हुल नै नआएको थापाले स्मरण गरिन् । बारीमा गोठालो नबस्ने हो भने गाउँभरिको बारी एकदिनमै सखाप पार्ने अवस्था छ । बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि हाल दैनिक बारीमै बस्ने गरेको थापाले सुनाइन् ।
बिना जस्तै स्थानीय कुलबहादुर थापाले पनि आफ्नो दिन पनि बाँदर धपाउनैमा बित्ने गरेको बताए । खाना खान पनि पालो गरी खानुपर्ने अवस्था रहेको उनले सुनाए ।
हाल जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा ससाना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रामा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाउँछन् ।
जैमिनीमा बाँदर आतङ्क बढ्नुको मुख्य कारण बसाइँसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । आफूहरूले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखि नै बाँदर पार्क बनाउने गरी योजना बनाएको उनले जानकारी दिए । अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिनेगरी योजना बनाइने उपप्रमुख शर्माले सुनाए ।
काठेखोला गाउँपालिका–१ का नरबहादुर पुनले बर्खामा मात्रै नभएर हिउँदमा पनि बाँदरले दुःख दिने गरेको बताए । घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेको उनको दुखेसो छ । हाल बाँदर मान्छेसँग पनि डराउन छोडेका पुनले सुनाए ।
जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । तथ्याङ्कअनुसार विसं २०८० मा २६३ परिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने २०८१ मा २१९ परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् ।
दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । यस्तै, विसं २०८० मा नौ परिवारका ४२ जना र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।
