कास्कीको माछापुुच्छ्रेमा कोदो रोपाइँ महोत्सव

गण्डकी । राष्ट्रिय कोदो दिवसका अवसरमा शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गरिएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम कोदो महोत्सव गरिएको हो । महोत्सवका अवसरमा कोदो रोपाइँ प्रतियोगिता गरिएकोमा १६ आमा समूहले सहभागिता जनाएका थिए ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बहुपोषणयुक्त कोदोको महत्वलाई बुझ्न नसक्दा यो हेला गरिएको अन्न जस्तो बनेको बताए ।

बहु परिकारसँगै घरेलु मदिरा आदि निर्माणका लागि कोदो उपयोगी हुने बताउँदै उनले यसबाट अधिकतम फाइदा लिन सकिने धारणा राखे।  जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर बन्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कोदोको महत्वलाई बुझ्न नसक्दा पनि यसतर्फको आकर्षण बढ्न नसकेको बताए ।

नेपाल उद्योग तथा व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले महोत्सवमार्फत कोदो खेतीको प्रवर्द्धन गर्न खोजिएको बताए ।

औषधीजन्य गुण भएको कोदो खेतीको विस्तार गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनु जरुरी भएको उनको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले स्थानीय उत्पादनमा जोड दिन सके त्यसले खाद्यान्नमा आत्मनिर्भर बनाउने धारणा राखे ।

नेपाल उद्योग तथा व्यवसायी सङ्घ कास्ककिा अध्यक्ष कृष्ण तिवारी, सचिव धर्ममान सिंह भण्डारीलगायतले कोदो खेतीको महत्वलाई उजागर गर्दै यसतर्फको आकर्षण बढाउन सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।

कार्यक्रमका अवसरमा गायक जीवन शर्माका प्रस्तुतिसँगै विभिन्न सांस्कृतिक कार्यक्रम, भजन आदि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *